Message from Chairman

अध्यक्षको मन्तव्य

श्री इन्द्रेश्वर उ.मा.वि.लगायत आसपासका विद्यालयहरुबाट कक्षा १२ उत्तीर्ण पश्चात ती विद्यार्थीहरुले पनौतीमै गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउन् भन्ने उद्देश्यले २०५८ सालमै स्थानीय शिक्षाप्रेमी र समाजसेवीहरुको पहलमा यस इन्द्रेश्वर क्याम्पसको स्थापना भएको हो । क्याम्पसको स्थापनाकालदेखि स्थानीय समुदायको उल्लेखनीय सहयोग र समर्थन सदा रहिरहेको छ । तत्कालीन सञ्चालक समितिको निर्णयबाट २०६६ सालमा लागेको १२ वर्षे मकरमेलाको अवसारमा इन्द्रेश्वर क्याम्पसको भवन निर्माणार्थ र व्यवस्थापन संकायमा स्नातकोत्तर तह ९ःद्यक्० सञ्चालनार्थ आर्थिक सहयोग प्राप्तिको निम्ति शिवशक्ति कल्याणीमाताको शिवपुराण कथा पुराण वाचन एवम् एक महिने कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरुको अथक मेहनतले जम्मा भएको रकमले थालेको क्याम्पस भवन निर्माण आजसम्म पनि पूर्णता नपाएकोले बाँकी रहेको काम पूरा गर्ने क्रम नयाँ ढंगबाट नयाँ व्यवस्थापनका साथ थालेका छौं । यथा समयमा निर्माण कार्य सम्पन्न गरी उद्घाटन गर्ने उद्देश्य रहेको छ ।

देशको सर्वाङगीण उन्नतिका लागि गुणस्तरीय, प्रविधिमैत्री र अनुसन्धानमूलक शिक्षा प्रदान गरी अनुशासित, नैतिकवान्, दक्ष, सक्षम सिपमूलक देशभक्त, इमान्दार नागरिक उत्पादन गर्ने र यस क्याम्पसलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च स्तरीय शैक्षिक केन्द्र बनाउने र क्याम्पसको यही उद्देश्य हासिल गर्न कृयाशील रहने हाम्रो प्रतिबद्घता जारी रहने छ । गरिब र जेहन्दार विद्यार्थीहरुलाई सुविधा, छात्रवृत्ति र पुरस्कृत गर्ने हाम्रो प्रतिबद्धता हो ।

विद्यार्थीहरुको शैक्षिकस्तर वृद्घि गर्न ध्यान दिने, खेलकुद नृत्य, गायन समाजसेवा आदिमा विद्यार्थीहरुको संलग्नतामा रुची वृद्घि गर्ने, दण्ड र पुरस्कारको व्यवस्था, क्याम्पसको विभिन्न विनियमहरु बनाउने, नियमको पालना एवम् समुदायमा “इन्द्रेश्वर मेरो क्याम्पस’’ भन्ने भावनाको जागृतीको लहर चलाउने हाम्रो उद्देश्य रहेको छ । पनौती क्षेत्रको सबेैभन्दा लोकप्रिय ज्ञानकेन्द्रको रुपमा उठाउनुका साथै क्याम्पसको भौतिक एवम् शैक्षिक अभिवृद्धिमा क्रियाशीलता रहने हाम्रो उद्देश्यलाई साकार पार्न सम्बन्धित सबैको साथ र सहयोग हुनेछ भन्ने विश्वास पनि रहेको छ ।

धन्यवाद ।

तुयुकाजी ताम्राकार

अध्यक्ष

इन्द्रेश्वर क्याम्पस सञ्चालक समिति पनौती ७, काभ्रेपलाञ्चोक